बसपछि सुन्दर यातायातको विद्युतीय ट्याक्सी सेवा, भाडा ३० प्रतिशत सस्तो

होमल्याण्ड खबर

२०७६ आश्विन १० गते, शुक्रबार १२:५३ मा प्रकाशित

काठमाडौंमा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालीले काठमाडौंमा विद्युतीय ट्याक्सी सेवा सञ्चालन गर्ने भएको छ ।

तिहारपछि १५ ओटा विद्युतीय ट्याक्सी चलाउने तयारी थालिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ‘दैसैपछि ट्याक्सी आइपुग्छ होला । प्राविधिक परिक्षण सकेर तिहारपछि ट्याक्सी संचालन गर्ने तयारी छ,’ उनले  भने।

सुन्दरका ट्याक्सीमा भाडा अरु ट्याक्सी भन्दा ३० प्रतिशत सस्तो हुने उनले जानकारी दिए ।‘हाम्रो ट्याक्सीमा खर्च निकै कम छ । फुल चार्ज गर्न ४ सय ५० रुपैयाँको बिजुली लाग्छ र यसबाट २ सय ५० किलोमिटर यात्रा गर्न सकिन्छ । त्यही भएर हामीले यात्रुसगँ कम पैसा लिन खोजेका हौ,’ उनले भने।

यी ट्याक्सी होम चार्जिङमा चार्ज गर्न ३ घण्टा लाग्ने र फास्ट चार्जिङमा डेढ घण्टामा फुलचार्ज हुने थापाले जानकारी दिए । सुन्दर यातायातले हाल २ विद्युतीय बसबाट काठमाडौंमा सेवा दिइरहेको छ ।