पुर्वसभामुख महराले बढाइदिए ‘हिमालयन रिजर्भ’ रक्सीको ब्राण्ड भ्यालू

होमल्याण्ड खबर

२०७६ आश्विन १६ गते, बिहीबार १३:४० मा प्रकाशित

सामाजिक सञ्जालमा ‘हिमालयन रिजर्भ’ रक्सी किनेर फाेटो पोस्ट गर्नेहरु पनि देखिएका छन् ।

सभामुख कृष्णबहादुर महरालाई आइतबारसाँझ तीनकुनेस्थित महिला कर्मचारीलाई बलत्कार गरेको भन्दै सोमबार साँझ सञ्चारमाध्यममा समाचार सार्वजनिक भए । समाचारमा उनले उक्त समयमा पिएको रक्सीको आधा बोतलको तस्बिर पनि सार्वजनिक भयो ।

महराले पिएको भनिएको उक्त रक्सी नेपाली उत्पादन थियो । यस समाचारसँगै उक्त रक्सीको पनि चर्चा चुलियो । रक्सीसँग जोडेर महराका विषयमा विभिन्न ट्रोल पनि भए भने रक्सीको चर्चा र बिक्री पनि बढ्यो ।

महराको पद उडाएको यो रक्सी यार्चागुम्बाको सम्मिश्रणबाट बनाइको भनिन्छ । आइतबार साँझ उनले पिएको भनिएको ७ सय ५० एमएलको यो रक्सीको मूल्य २८ सय रुपैयाँ पर्छ । आन्तरिक ह्वीस्कीको क्याटेगोरीमा रहेको यो रक्सीमा अलकोहलको मात्रा ४२.८ प्रतिशत हुन्छ ।

अलकोहलको यो मात्रा वल्र्ड फेमस रेड लेबल, ब्लु लेबल, ज्याक डेनियल (जेडी)भन्दा बढी हो । रक्सीमा यूपीको मात्रा जति धेरै भयो, त्यति अल्कोहलको मात्रा कम हुँदै जान्छ भने यूपीको मात्रा जति कम हुन्छ, त्यति नै अलकोहलको मात्रा बढ्दै जान्छ । हिमालयन रिजर्भमा यूपीको मात्रा २५ हुन्छ । अर्थात् यसमा अल्कोहलको मात्रा धेरै छ ।

यूपीको मात्रा धेरै भएको रक्सीले राजस्व कम तिर्नुपर्छ । यूपीको मात्रा धेरै भएमा उत्पादन लागत पनि कम हुने र राजस्व पनि कम तिुर्नपर्ने हुन्छ ।