विश्वकप छनोटः नेपाल जोर्डनसँग पराजित

होमल्याण्ड खबर

२०७६ आश्विन २९ गते, बुधबार ०८:०८ मा प्रकाशित

विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

अम्मान अन्तराष्ट्रिय रंगशालामा मंगलबार राति भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३–० ले पराजित भएको हो ।

जोर्डनका लागि फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले एक एक गोल गरे ।

खेलको ५६ औं मिनेटमा फेरासले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा अहमेदले गोल गर्दै जोर्डनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८८ औं मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३–० को सहज जित दिलाए ।

हारसँगै नेपालले चार खेलबाट तीन खेलमा हार र एक खेलमा जित हात पार्दै तीन अंक बनाएर समूह ‘बी’ को चौथो स्थानमा छ ।

विजेता जोर्डनको भने तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरीसहित सात अंक भएको छ ।

त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ७–१ ले पराजित गरेको छ ।

अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।