११ मंसिर २०८१, मंगलवार
क्याट क्विन्स काठमाडौंले जारी प्रथम वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आफ्नो दोस्रो खेलमा पोखरा पल्टनमाथि ८२ रनको नतिजा निकाल्दै काठमाडौंले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
१ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको पोखरा १६.५ ओभरमा ७० रनमा अलआउट भएपछि काठमाडौं सहज जित निकाल्न सफल भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका लागि कप्तान सिता रानामगरले सर्वाधिक १७ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । विन्दु रावलले १३ रन बनाउँदा रुबि पोद्धारले ९ रन बनाउँदा अन्जली चन्दले ८ रन जोडेकी थिइन् । सरस्वती मगर र राजमती कुँवरले १–१ रन बनाउँदा ४ खेलाडीले खाता नै खोल्न सकेनन् ।
पोखराका खेलाडीलाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २ –२ विकेट लिइन् । लक्ष्मी साउँदको नाममा १ विकेट रह्यो । यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रनको विजय लक्ष्य दिएको थियो । काठमाडौंका लागि कप्तान रुविना क्षेत्रीले अविजित ८० रन बनाएकी थिइन् । ६७ बल खेलेकी रुविनाले १४ चौका २ छक्का प्रहार गरेकी थिइन् ।
रोमा थापाले १९ रन बनाउँदा शोभा आलेले १२ तथा इश्वरी विष्ट १० रनमा अविजित रहिन् । पोखराका अनुराधा चौधरीले ४ विकेट लिएकी थिइन् । १ विकेट कविता कुँवरको नाममा रह्यो । आज विजयी काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो ।
आज दिउँसो हुने अर्को खेलमा ललितपुर फाल्कोन्स र विराटनगर टाइटन्स आमने सामने हुनेछन् ।