प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

होमल्याण्ड खबर

२०७६ कार्तिक ७ गते, बिहीबार १२:३१ मा प्रकाशित

असंलग्न राष्ट्रका प्रमुखहरुको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान प्रस्थान गरेका छन् ।

अजरबैजानको बाकुमा हुने शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत अजरबैजान प्रस्थान गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाट सीधैं बाकु पुगिसकेका छन् ।

कार्त्तिक ८ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ । प्रधानमन्त्रीले सम्मेलनलाई कात्तिक ९ गते सम्बोधन गर्ने तय भएको छ ।

परराष्ट्रका अनुसार, सम्मेलनमा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली कार्तिक १० गते स्वदेश फर्किने छन् ।