११ मंसिर २०८१, मंगलवार
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्धको तीन दिवसीय क्रिकेटको पहिलो दिनको खेलमा ५० ओभरको खेल सकिँदा १८९ रन पूरा गरेको छ । नेपाल भ्रमणमा रहेको एमसीसीले मध्यम सुरुआत गर्दै १८९ रन पूरा गरेको हो ।
एमसीसीका लागि विल रोर्डस अर्धशतक पूरा गर्दै आउट भए । टस हारेर पहिले ब्याटिङ गरिरहेको एमसीसीका लागि उनले ७३ रन पूरा गरेका थिए । उनलाई सोमपालले व्यक्तिगत दोस्रो विकेटको रुपमा बोल्ड आउट गराए । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले ३० ओभरको खेल सकिँदा १०० रन पूरा गरेको थियो ।
एमसीसीका लागि बिल्ली गोडलमन १० रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । उनलाई सोमपाल कामीले ८ ओभर १ बलमा क्याच आउट गराएका थिए । सोमपालको बलमा ललित राजबंशीले क्याच गरेका थिए । गोल्डमन १० रन बनाएर आउट भएका थिए ।
एमसीसीका लागि टोम विस्टली ३९ रन बनाएर आउट भए । उनलाई शरद भेषावकरले एलबीडब्लु आउट गराएका हुन् । एमसीसीका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका माइल्स हामोन्डले पनि अर्धशतक पूरा गरेका छन् । त्यस्तै विल भेन्डास्परले १५ रन बनाउन सफल भएका छन् ।