‘नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर कुर्लने’: मन्त्री बाँस्कोटा

होमल्याण्ड खबर

२०७६ मंसिर ८ गते, आईतवार १२:४० मा प्रकाशित

पोखरामा एउटा चुनावी आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको गम्भिर आरोप माथि सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पोखराबाटै देउवालाई जवाफ फर्काएका छन् ।

सभापति देउवाले शनिबार पोखरामा ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो’ भन्ने अभिव्यक्ति दिएपछि जवाफमा बाँस्कोटाले नाकाबन्दीका बेला बोल्न नसकेका देउवाले जथाभावी बोल्नु लज्जाजनक हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आज बिहान आयोजना गरेको पत्रकार भेटघाटमा पत्रकाहरुको प्रश्नको जवाफ दिँदै बास्कोटाले भने, ‘नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ? चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन ।

जुनै पनि आरोप लगाउँदा सत्यमा आधारित हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेकोदेखि अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत बास्कोटाले उठाए ।

देउवाले त्यस्तो अभिव्यक्ति दिएको आफूलाई विश्वास नलागेको पनि उनले बताए । ‘प्रमुख प्रतिपक्षी दलजस्तो जिम्मेवार दलका नेताले त्यस्तो आरोप लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन,’ उनले भने, ‘यदी आरोप नै लगाउनुभएको हो भने गम्भीर प्रश्न उठ्छ । टनकपुर सन्धि हामीले बिर्सेका छैनौं ।’

अहिले देउवाले किन यस्तो अभिव्यक्ति दिएको भन्नेमा अर्थ लुकेको उनले बताए ।

टनकपुर सन्धिप्रति देउवाको दृष्टिकोण के हो ? भनेर प्रश्न गर्दै उनले भने, ‘यस्ता आरोप लगाउने हो भने गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ ।’