२ मंसिर २०८१, आईतवार
कास्की क्षेत्र नम्बर २ मा यही मंसिर १४ गते हुने उपनिर्वाचनको माहोल यतिबेला तातेको छ । प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनले कास्की क्षेत्र नं. २ यसपटक विशेष चर्चामा छ । यतिबेला विभिन्न राजनैतिक दलहरू आफ्नो पक्षमा भोट माग्न गाउँ गाउँ पुगेका छन् ।
यसैबीच कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीले कांग्रेस र कम्युनिष्टसँग आफ्नो कडा प्रतिस्पर्धा हुने दावी गरेको छ । यसबेला साझालीहरु आफ्नो पक्षमा जनमत पार्न मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन् ।
उम्मेदवार रजनी के.सी मतदातालाई आफूतिर तान्न हरेक दिन बिहान देखि साँझसम्म टोलटोलमा मतदाता भेट्न पुग्छिन् । खेतमा धान काट्दै गरेका मतदाता हुन् या होटल पसल व्यवसाय गरिरहेका मतदाता सबै सामु पुगेर रजनी गाउँको भोट आफ्नो पक्षमा तान्न जोडबलले लागेकी छिन् । बिहानदेखि रातिसम्म चुनावी सभा, भेला, छलफल लगायतका कार्यक्रम गरिरहेकी छिन् ।
साझाले गल्ली गल्ली चोक चोकमा पार्टीको झन्डा, तुल, ब्यानर राखेर प्रचार प्रसार गरिरहेको छ । साझालीहरु अहिले आमसभा र घरदैलोमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै हिँडिरहेका छन् । अरु पार्टीको जस्तो भड्किलो प्रचार शैली यिनीहरुको छैन, मकै भटमास र समोसा खाएरै कार्यकर्ताहरु चुनाव प्रचारमा होमिएको देखिन्छ ।
सादा जीवनशैली, तड़क भडक बिनाको प्रचार तथा स्वच्छ छवि भएकोले गर्दा स्थानीय मतदाताहरु पनि साझा पार्टीप्रति अत्यन्तै सकारात्मक भएको र यसपल्ट विकल्पको रुपमा तराजु नै रोज्ने बताएको साझा पार्टीका एक कार्यकर्ताले बताए ।
लोककल्याणकारी राज्य, सेवक सरकार तथा सुशासनको प्रमुख एजेण्डा बोकेको साझा पार्टी केन्द्रले पनि आफूलाई कास्की क्षेत्र नम्बर २ मा कडा प्रतिस्पर्धी मानेको छ । उम्मेदवार रजनीले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेकी छन् । पुराना दलहरु पटक पटक सत्तामा गए पनि कुनै उल्लेख्य काम गर्न नसकेकोले पोखरेली मतदाताले विकल्पको खोजी गरिरहेको रजनी बताउँछिन् ।