सागः मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

होमल्याण्ड खबर

२०७६ मंसिर १६ गते, सोमबार १३:१६ मा प्रकाशित

तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म तीन स्वर्ण पदक जितेको छ । नेपालका लागि कराँतेका खेलाडी मण्डेकाजी श्रेष्ठले कराँतेको एकल पुरुष विधामा पहिलो स्वर्ण पदक दिलाएका हुन् ।

सेमीफाइनलमा पाकिस्तानका नेमतुल्लाहलाई हराएर फाइनलमा पुगेका मण्डेकाजीले स्वर्ण पदकको स्पर्धामा पनि पाकिस्तानी खेलाडीलाई नै पराजित गरे ।

त्यसैगरी नेपालका लागि कमल श्रेष्ठले अर्को स्वर्ण पदक दिलाए ।कमलले भारतका राहुल जैनलाई पराजित गर्दै दोस्रो स्वर्ण दिलाएका हुन् । त्यस्तै, नेपालकी निर्मला तामाङ, सरु कार्की र संगिता मगरले टिम काँतामा स्वर्ण दिलाएका हुन् । नेपालले २४ दशमलव ८८ अंक प्राप्त गर्दा पाकिस्तान २३ दशमलव ३ अंकमा सिमित भएपछि टिम नेपाल विजयी बनेको हो ।