११ मंसिर २०८१, मंगलवार
१३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा नेपालको दबदबा कायम भएको छ । हालसम्म नेपालले २० स्वर्णसहित अन्य मुलुकलाई निक्कै पछि छाडेको छ ।
सोमबार १५ स्वर्ण हात पारेको नेपालले मंगलबार ५ स्वर्ण थपिसकेको छ ।
२० स्वर्ण, ३ रजत र ८ काश्य गरी कूल ३१ पदक नेपालको पोल्टामा परेको छ । मंगलबार एथलेटिक्स तर्फको १० किलोमिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । चालु सागमा एथलेटिक्समा नेपालले प्राप्त गरेको यो पहिलो स्वर्ण हो ।
उसुमा मंगलबार बिहान नेपालले दुई स्वर्ण पदक जितेको थियो । ट्रायथलनमा पनि पोखरामा आजै एक पदक नेपालले थपेको छ । करातेमा पनि नेपालले मंगलबार बिहान एक स्वर्ण थपेको छ ।
नेपालका लागि मंगलबार लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा विजय सिञ्जाली र सुस्मिता तामाङले उसुमा स्वर्ण पदक जितेका थिए । ट्रायथलनमा हिमाल टमाटाले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
पुरुष करातेको ६७ केजी तौल समूहमा नविन रसाइलीले पाकिस्तानका अहमद नासिरलाई पराजित गर्दै स्वर्ण पदक जिती स्वर्ण पदको संख्या थपेका थिए ।