११ मंसिर २०८१, मंगलवार
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दशौं अर्थात् अन्तिम दिन आज मंगलबार औपचारिक रुपमा समापन समारोह हुने भएको छ ।
सागको दशौं दिन समापन समारोहसहित काठमाडौंमा आजै विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।
सागमा आज फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।
साग फुटबलको साविक विजेता नेपाल र पहिलो पटक फाइनल पुगेको भुटानबीच स्वर्ण पदकका लागि मंगलबार दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुनेछ । त्यसअघि दिउँसो १२ बजे सांसद ११ र राष्ट्रसेवक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटबल हुने तय गरिएको जनाइएको छ ।
पदक तालिकामा नवौं दिनसम्म भारतले १६३ स्वर्णसहित अग्रता बनाएको छ । ४९ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।
डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रबिधिमार्फत सम्बोधन गर्नेछन् । सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापुर्वक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी हुनेछ ।
समापन समारोहमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।
सागको अन्तिम दिन मंसिर २४ गतेको कार्यक्रम :
नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ः०० बजे, दशरथ रंगशाला, त्रिपुरेश्वर । फुटबल सकिएपछि समापन कार्यक्रम ।
दिनको ११ः५५ बजे सांसद् ११ र राष्ट्र सेवक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल, दशरथ रंगशाला, त्रिपुरेश्वर ।
भुटान र माल्दिभ्सबीच महिला बास्केटबलको तेश्रो स्थानको खेल बिहान ८ः०० बजे । पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल बिहान १०ः३० बजे, राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वर ।
पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल अपरान्ह १ः०० बजे । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल अपरान्ह ३ः३० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल, त्रिपुरेश्वर ।
बक्सिङमा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुने । अपरान्ह १ः०० बजेदेखि, अन्तर्राष्ट्रिय खेलकुद परिसर, कराते हल, सातदोबाटो ।
जुडोमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुने । खेल बिहान ९ः०० बजेदेखि सुरु हुने । फाइनल १२ः३५ देखि । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल ।