सभामुख चयन प्रक्रिया एक हप्तापछि

होमल्याण्ड खबर

२०७६ पुष ४ गते, शुक्रबार १५:२४ मा प्रकाशित

प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ देखि सुरु हुने भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सं‌सदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्नेसमेत तय गरेको छ । उक्त बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

बैठकले आज बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गर्ने सहमति पनि जुटाएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ ।

आजको संसद बैठकमा अधिवेशन सुरु भएकोबारे राष्ट्रपतिको पत्र, मन्त्रिपरिषदका सदस्य हेरफेरबारे राष्ट्रपतिको पत्र पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै चार जना पूर्वसां‌सदको शोक प्रस्ताव पारित गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सात जनाको नाम पढेर सुनाउने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।