कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

होमल्याण्ड खबर

२०७६ पुष ९ गते, बुधबार १३:०२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।

पुस १० गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठकको एजेण्डामा संस्थापन र पौडेल समूहबीच सहमति नजुटेपछि बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने गरी सरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पटक पटक बैठक स्थगित हुँदै आएको छ ।

मंसिर २६ गते वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरे पनि सभापति शेरबहादुर देउवाले विभाग बढाउनेजस्ता ९ एजेन्डा छलफलका लागि पेश गरेका थिए ।

तर त्यसपछि बसेका पाँच वटा बैठक पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गर्दै आएका छन् ।