नेकपाको निर्णयः प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा

होमल्याण्ड खबर

२०७६ पुष १३ गते, आईतवार १२:३१ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

‘प्रदेश नम्बर तीनको नाम बाग्मती राख्ने बारेमा सहमति भएको छ’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘राजधानी अहिले हटौंडामा छ त्यसलाई नचलाउने कुरा भएको छ ।’

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरुबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन ।

राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । राजधानीको वियषयमा विवाद देखिएपछि प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।