भोलिका लागि डाकिएको संसद बैठक सूचना टाँसेर ११ दिनका लागि स्थगित हुने

होमल्याण्ड खबर

२०७६ पुष १५ गते, मंगलवार १६:०३ मा प्रकाशित

बुधवारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर ११ दिनका लागि स्थगित हुने भएको छ ।  पार्टीबाट को सभामुख हुने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टीले निर्णय गर्न नसक्दा लगातार दोस्रो पटक संसद बैठक सूचना टाँसेर स्थगित हुन लागेको हो ।

संसद सचिवालय स्रोतका अनुसार अर्को बैठक पुस २७ गते बस्नेछ । यसअघि आज बिहान सभामुखको उम्मेदवार टुंगो लगाउनेबारे प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दुबै अध्यक्षले यसबारे थप छलफल गर्ने बताएका छन् ।

सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी दुबै पक्षले दाबी गर्दै आएका छन् । प्रधानमन्त्री  ओलीले पूर्वसभामुख एवम् स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने पूर्वमाओवादी पक्षधरले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउनुपर्छ भनिरहेका छन् ।

पूर्वमाओवादी पक्षधर नेताहरुले सभामुख नछाड्न प्रचण्डलाई दबाब दिइरहेका छन् । उनीहरुले प्रचण्ड निवास खुमालटार पुगेर सभामुख आफुहरुले नपाएमा पार्टीभित्रको आन्तरिक सन्तुलनमा समस्या आउने चेतावनी दिने गरेका छन् ।

खुमलटार पुगेका नेताहरुलाई अध्यक्ष प्रचण्डले सभामुख छाड्नेबारे संकेतसम्म पनि नगरेको एक नेताले  बताए ।

‘अध्यक्षले पूर्व एमालेलाई दिने सहमति गरेको भए त अहिलेसम्म यो विषय टुंगिसकेको हुन्थ्यो’, श्रोतले भन्यो,’सभामुख छाड्नु हुदैन भनेर हामीले अध्यक्षलाई प्रष्टसँग भनेका छौ । हामीले पाउने भन्ने कुरा सोध्न पर्ने विषय नै होइन ।’

सभामुख चयनमा सहमति नभएकै कारणले पुस ११ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पुस १६ गते बस्नेगरी सूचना टासेर स्थगित भएको थियो । उपसभामुख शिवमाया तुम्बाहङफेले सभामुखमा आफ्नो स्वभाविक दाबी रहने बताउँदै आएकी छन् ।