प्रदेश २ को प्रदेशसभा बैठक बस्दै नबसी स्थगित

होमल्याण्ड खबर

२०७६ पुष १७ गते, बिहीबार १३:३१ मा प्रकाशित

प्रदेश नम्बर २ को प्रदेशसभा बैठक आज बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना निकालेर स्थगित गरिएको हो ।

बैठक पुस २४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिएका छन् ।

यस भन्दा पहिले सोमबार र मंगलबार बसेको प्रदेशसभा बैठकमा विपक्षी दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र सत्तारुढ राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गरेपछि बैठक अवरुद्ध गरेका थिए ।

उनीहरुले उपभोक्ता समिति मार्फत भएको विकास निर्माणको भुक्तानी, जनता आवास, माननीयहरुको संसदीय कोषको कार्यविधि, सशर्त अनुदान लगायतका विषयमा मुख्यमन्त्री लालबाबु राउत स्वयं सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएका छन् ।