सरकारको कमजोरीको खबरदारी गर्दै सघाउनु पर्छ: प्रवक्ता शर्मा

होमल्याण्ड खबर

२०७६ पुष २० गते, आईतवार ११:२६ मा प्रकाशित

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ ।

शनिबार चितवनको इच्छाकामना गाउँपालिका ४ मा रहेको सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भन्नुभयो, शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस् । सबै सरकारलाई सघाउनुपर्छ । सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ ।

प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञानमात्र नभइ संस्कार पनि सिकाउन आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताउनु भयो ।

विसं २०२७ मा स्थापना भएको विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि सापकोटाले स्वर्ण महोत्सव सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

स्वर्ण महोत्सवको अवसरमा सातै दिन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने महानुभावलाई सम्मानसमेत गरिएको विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिनुभयो । रासस