१० मंसिर २०८१, सोमबार
मुलुकमा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू आत्मसमर्पण गरेको दिनको सम्झनामा वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।
यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरिएको थियो । यो लोकतन्त्र स्थापना भएको दिन वैशाख ११ र गणतन्त्र स्थापना भएको दिन जेठ १५ मा हुँदै आएको सार्वजनिक विदा भने वर्तमान सरकारले कटौती गरेको छ । कतिपयले यसको आलोचना समेत गरेका छन् ।
सरकारले भने लोकतन्त्र, गणतन्त्रलाई संविधानले संस्थागत गरेकाले संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । लोकतन्त्र दिवसमा सरकारको तर्फबाट औपचारिक कुनै कार्यक्रम नगरिए विभिन्न संस्थाहरुले आफूअनुकुल कार्यक्रम आयोजना गरेका छन् ।
वैशाख ११ गतेको जगमा देशमा ठूला परिवर्तन भएपनि यो दिन बिरानो बन्दै गएको छ । यो विशेष दिनलाई सरकार र राजनीतिक दलले पनि बिर्सिएको भान हुन थालेको छ । परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् ।
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक दलका नेतालाई नजरबन्दमा राखेर शासन सत्ता आफ्नो हातमा लिएपछि दुई ध्रुवमा रहेका संसद्वादी दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । दुई शक्तिका बीचमा भएको यो समझदारीलाई वैशाख ११ गतेले नै अनुमोदन गरेको थियो । नयाँ संविधान अनुसार तीनै तहको चुनाव भैसकेकाल अब देशमा स्थायीत्व र विकास हुने नागरिकको अपेक्षा छ ।
नारायणहिटी दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृङ्खला चलाए । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए ।