३ मंसिर २०८१, सोमबार
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न बुधबार शीर्ष नेताबीच छलफल हुने भएको छ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल लचिलो बनेका छन् । उनले देउवासँग मिलेर जाने नीति बनाएका छन् । देउवाले पनि पौडेलको माग सम्बोधन गर्न लचकता अपनाएका छन् ।
कार्यतालिकासहित ७ फागुनका लागि महाधिवेशन तोकेको र पार्टीको विभागहरु बढाएपछि केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका पौडेल सहित उनको समूह लचिलो भएको छ । पौडेल समूहलाई देउवाले आज अपरान्ह बुढानिलकण्ठमा छलफलका लागि बोलाएका छन् । देउवाले बोलाएपछि एजेन्डा तयार गर्न पौडेल समूहको बैठक बसेको छ ।
पौडेल निवास बोहराटारमा महामन्त्री डा.सशांक कोइराला, प्रभावशाली नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायत सहभागी थिए । बैठकले महाधिवेशनको कार्यतालिका फेरबदल गर्नुपर्ने शर्त तयार राखेको बुझिएको छ । यसैमा सहमति गर्ने गरी प्रस्ताव राखिने बैठकमा सहभागी एक नेताले बताए ।
काँग्रेस वरिष्ठ नेता पौडेल दिल्लीमा महत्वपूर्ण भेटघाट गरेर फर्किएपछि केही लचिलो भएका छन् । उनले स्वास्थ्यजाँचका लागि दिल्ली पुगेको भनेपनि राजनीतिक भेटघाट समेत गरेका छन् ।
पौडेल आगामी महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । उनको समूहमा डा.सशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरु पनि दाबेदार छन् ।