३ मंसिर २०८१, सोमबार
राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचन बिहान १०–४ बजेसम्म मतदान हुनेछ ।
प्रदेशगत रुपमा सम्बन्धित प्रदेशको प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतबाट राष्ट्रिय सभा सदस्य चुनिनेछन् ।
आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ ।
आयोगका अनुसार, मतदानलगत्तै राजनीतिक दलहरुको सहमतिमा मत गणना हुने र कुनै बाधा/अवरोध नआए गणना प्रारम्भ भएको एक/डेढ घण्टामा परिणाम आउनेछ ।
राष्ट्रिय सभामा हाल रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि सकिन लागेको हो ।