रिक्त रहेको सभामुख पदको निर्वाचन आज

होमल्याण्ड खबर

२०७६ माघ १२ गते, आईतवार १०:२१ मा प्रकाशित

प्रतिनिधिसभा सभाको रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।

संसद सचिवालयकी एक महिला कर्मचारी माथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद चार महिनादेखि रिक्त रहेकाले आज सो पदमा निर्वाचन हुन लागेको हो ।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । सभामुखमा नेकपाको तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ ।

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनेछन् ।

बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नेछन् । वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन् ।

सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गर्नेछन् ।

प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषणा गर्नेछन् । नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ ।

यस्तै सभामुखमा उम्मेदवार बनेका सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उनीविरुद्धको रिटमा आजै सुनुवाई हुँदैछ ।

नेकपाले नेता अग्नि सापकोटालाई भावी सभामुखको उम्मेदवार बनाउने निर्णय गरेदेखि नै विरोध भइरहेको थियो । विरोधका बाबजुद उनले उम्मेदवारी दिए ।

सापकोटामाथि २०६२ सालमा तत्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ ।