३ मंसिर २०८१, सोमबार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको ठहर गरेको हो ।
देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने आशा गरिए पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।
बैठकका ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावि कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष थापाले राजसंस्थालाई पाखा लगाएर सुरु गरिएको गत १४ वर्षको राजनीतिक अभ्यासपछि अहिले देश झन संकटग्रस्त हुँदै गएको आभास भएको बताए ।
केही ठूला व्यापारी, कर्मचारी र राजनीतिक नेताहरुको त्रिकोणात्मक गठबन्धनले देशमा डरलाग्दो भ्रष्टाचारको संजाल र जालो खडा गरेको आरोप लगाउँदै उनले तलदेखि माथिसम्म सेटिङ मिलाएर ब्रम्हलुट हुने गरेको बताए ।
अध्यक्ष थापाले तीब्र गतिमा इसाइकरण हुने देशमा नेपाल पहिलो नम्बरमा रहेको बताएका छन् । धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समयमै नियन्त्रण गर्न नसके यसले नेपालको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक साँस्कृतिक सद्भाव र एकता खलबल्याउने र देशलाई गम्भीर धार्मिक द्वन्द्वमा फसाउने संभावना देखिएको थापाले बताए ।
चुनाव जित्न, सत्तामा पुग्न र टिकीरहन विदेशी शक्तिहरुको प्रभाव र हस्तक्षेत्रप बढेको र राजनीतिक दलहरुमा वैचारिक विचलन देखिएको राप्रपाले जनाएको छ ।