उपाध्यक्ष निर्वाचित भएलगत्तै वामदेवले २ नम्बर प्रदेशकाे विवाद सल्ट्याउने

होमल्याण्ड खबर

२०७६ माघ २१ गते, मंगलवार १४:२६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का नेता वामदेव गौतम २ नम्बर प्रदेशको विवाद मिलाउन खटिने भएका छन् ।

उनी केन्द्रीय समिति बैठकबाट उपाध्यक्ष निर्वाचित भएलगत्तै २ नम्बर प्रदेशबाट काम थाल्ने भएका हुन् । संगठन विभाग प्रमुख समेत रहेका गौतमले माघ २२ गते बुधबारबाट २ नम्बर प्रदेशको विवाद मिलाउन खटिने जनाएका छन् ।

‘एकताका क्रममा २ नम्बर प्रदेशका विभिन्न पार्टी कमिटीमा विवाद देखिएका छन् । ती विवादहरु जिल्लामै गएर विधि, विधानअनुसार मिलाउने काम मेरो पहिलो प्राथमिकतामा परेको छ’, गौतमले भने, ‘पार्टीको विधि, विधान र पुराना माइन्युट समेत हेरेर सोही अनुसार काम अघि बढ्छ ।’

२ नम्बर प्रदेशका धेरैजसो जिल्ला र प्रदेश कमिटिहरुको एकताप्रति ती जिल्लाका केन्द्रीय सदस्यहरुले हालै सम्पन्न केन्द्रीय समिति बैठकमै आवाज उठाएका थिए । खासगरी एकतापछि रौतहट, धनुषा, महोत्तरीमा समस्या रहेको छ । ति जिल्लाका जिल्ला कमिटीको सपथ ग्रहण समेत रोकिएको छ ।

पार्टी एकतापछि गठित कतिपय प्रदेश तथा जिल्ला कमिटीहरुमा साविक एमालेतर्फका निर्वाचित सदस्यहरुलाई समेत नराखेको तथा कतिपय कमिटीमा संगठित सदस्यता नभएकालाई पनि जिम्मेवारी दिएको भन्दै समानान्तर कमिटी नै बनेका छन् ।