३ मंसिर २०८१, सोमबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गर्न पुगेका एक दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
अख्तियारले ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै बिहीबार आयोगको कार्यालय सामुन्ने विरोध प्रदर्शन गरिरहेका नेता तथा कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हाे ।
‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार साझा पार्टीले विरोध प्रदर्शन गरेको हो । सिठी जुलुससहित भएको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेको थियो ।
टंगालस्थित आयोगको मूल गेटअगाडि पुगेका प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गर्दै रोकेको हो । यस क्रममा साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा केन्द्रीय सदस्यहरुमा नारायण कोइराला, शरदराज पाठक, प्रकाशचन्द्र परियार, अव्दुत मियाँ, समीक्षा वाँस्कोटा रहेका छन् । त्यस्तै साझा पार्टीका अन्य सदस्यहरुमा सुर्यदीप रेग्मी, सुवास खत्री, प्रदिप थापा, सुरज प्रधान, रोशन बस्नेत, पवन मगर, सुप्रभात श्रेष्ठ, श्यामहरी महाजु रहेका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्वलमा राखिएको साझा पार्टी युवा संगठनका केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले जानकारी दिइन् ।
आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ ।