३ मंसिर २०८१, सोमबार
बिहिबारदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभा बैठक डाकेका हुन् ।
कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाइएको र नेकपाका नेताहरुलाई जोगाउने काम गरेको भन्दै बिहीबार र शुक्रबारको संसद बैठक अवरोध गरेको थियो ।
आज पनि बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।
आज डाकिएको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची तोकिएको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक, २०७६’ पेश गर्ने कार्यसूची छ । यस्तै, प्रधानमन्त्रीका तर्फबाट ‘संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्था विधेयक’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय सभामा ‘नेपाल इन्जिनियरिङ परिषद्, पहिलो संशोधन’ विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची छ ।