९ मंसिर २०८१, आईतवार
पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ ।
समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस श्री स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथात् काठमाडौंको साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत बस्ने चलन रहि आएको छ ।
हिन्दु धर्मग्रन्थि अनुसार हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ ।
माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानीको विशेष आराधना गरिन्छ ।
देवाधिदेव महादेवसहित स्वस्थानीको विधिपूर्वक पूजा आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । समापनको पूजामा स्वास्थानी देवीलाई १०८ को संख्यामा पूजा सामग्री चढाइन्छ । विधिपूर्वक एक महिने व्रत गरेकाले आज माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी स्वस्थानी मातालाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ ओटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने गरिन्छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगब्याध ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने धार्मिक विश्वास छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन छ । व्रतको प्रभावले बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।
यसरी सामूहिक रुपमै स्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समूदायलाई फाईदा हुने जनविश्वास छ । महादेव पति पाएपछि पार्वतीले नै यो व्रत जनमानसमा फैलाउन लगाएको स्वस्थानी व्रतकथामा उल्लेख छ ।