१० मंसिर २०८१, सोमबार
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । एपिएफको जीतमा आशिष लामा र प्रवीन स्याङतेनले दुई/दुई गोल गरे भने कप्तान टोपबहादुर विष्टले थप एक गोल गरे । पराजित फ्रेन्ड्स क्लबका लागि विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे । खेलको १२औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । खेलको ४०औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए । खेलको ६९औँ मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को स्थितिमा ल्याए । खेलको ७१औँ मिनेटमा प्रवीनले गोल गर्दै एपिएफलाई ३–१ को अग्रता दिलाए । ७६औँ मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३–२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले लगातार दुई गोल गर्यो । जसमा कप्तान टोपबहादुरले गोल गर्दै एपिएफलाई ४–२ को अग्रता दिलाए भने प्रवीनले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ५–२ को सानदार जीत दिलाए । जारी लिगमा यो एपिएफको दोस्रो जीत हो । जीतसँगै एपिएफले १२ खेलमा आठ अङ्क जोडेको छ । एपिएफ १३ औँ स्थानमा छ । पराजित फ्रेन्ड्स १२ खेलमा १४ अङ्क जोडेर लिगको नवौँ स्थानमा रहेको छ । खेलमा एपिएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए ।