सदनको अवरोध अन्त्य गर्ने कांग्रेसकाे निर्णय

होमल्याण्ड खबर

२०७६ माघ २८ गते, मंगलवार १२:५५ मा प्रकाशित

प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनको अवरोध अन्त्य गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सदनको अवरोध अन्त्य गर्ने निर्णय गरेको हो ।

मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा आफ्नो कुरा व्यक्त गरेर अवरोध हटाउने निर्णय कांग्रेस संसदीय दलले गरेको हो । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्ता पक्षका नेतालाई चोख्याएको तथा कांग्रेसका नेतालाई मुद्दा चलाएको विरोधमा कांग्रेसले गएको बुधबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएको थियो ।

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारमाथि मुद्दा पछि विरोधमा कांग्रेसले बुधबार, शुक्रबार र आइतबार संसद बैठक अवरुद्ध गरेको थियो ।

संसदमा गच्छदारलाई मुद्दा चलाएको विरोध गरेको कांग्रेसले बाहिर सडकमा समेत अख्तियार पूर्वाग्रही बनेको भन्दै आन्दोलन गर्दै आएको छ ।