‘जनयुद्ध’ दिवस मनाउँदै नेकपा, प्रधानमन्त्री ओली पनि सरिक हुने

होमल्याण्ड खबर

२०७६ फाल्गुन १ गते, बिहीबार ०९:३५ मा प्रकाशित

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक वर्ष मनाइँदै आएको जनयुद्ध दिवस आज मनाउँदैछ ।

जनयुद्ध सुरु भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता–कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन् ।

आज विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २५ औं जनयुद्ध दिवस मनाउँदैछन् ।

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज २५ औं जनयुद्ध दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।

तत्कालिन एमाले वृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कार्यक्रममा सहभागि हुँदैछन् ।

आज धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना हुनेछ । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदैछन् ।

आजै विभिन्न पार्टी र समूहमा विभाजित माओवादी पार्टीहरुले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदै छन् ।

२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो ।