सञ्चार तथा सूचनामन्त्री बास्कोटाबारे बालुवाटारमा दुई अध्यक्ष छलफलमा

होमल्याण्ड खबर

२०७६ फाल्गुन ८ गते, बिहीबार ११:४८ मा प्रकाशित

सञ्चार तथा सूचनामन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा दुई अध्यक्षबीच नियमित भेटघाट, संवाद भएको बताइए पनि यही छलफलको विषय गोकुल बास्कोटा प्रकरण नै भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बास्कोटा प्रकरणबारे पनि कुरा भइरहेको जानकारी दिए । “नियमित भेट हो, विषय आएकाले यो प्रकरणमा पनि कुरा उठ्ला,” उनले बाह्रखरीसँग भने ।

सरकारले स्वदेशमै नोट, राहदानी चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकीकृत छपाइका लागि राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) खरिद् प्रकरणमा सञ्चारमन्त्रीले  ७० करोड कमिसन मागेको समाचार बाहिरिएपछि नेकपा तरङ्गित छ ।

कांग्रेसले बर्खास्त गर्न माग गरिसकेको छ भने पार्टीभित्रै पनि मन्त्रीबाट हटाउन माग उठिरहेको छ ।