मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न साझा पार्टीको माग

होमल्याण्ड खबर

२०७६ फाल्गुन ८ गते, बिहीबार १२:१० मा प्रकाशित

साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन गर्न माग गरेको छ । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बिहीबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सञ्चार मन्त्री बास्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन गर्न माग गरेका हुन् ।

“आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा आमजनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न पनि माग गरेको छ ।