बाँस्कोटामाथि लेखा समितिले पनि छानबिन गर्ने

होमल्याण्ड खबर

२०७६ फाल्गुन ९ गते, शुक्रबार ०९:५१ मा प्रकाशित

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुरक्षण मुद्रण प्रेस खरिदका लागि अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायत उच्च पदस्थ कर्मचारीको विदेश भ्रमणबारे छानबिन गर्ने भएको छ ।

समितिको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयसँग पटकपटक गरिएका भ्रमण खर्चसम्बन्धी विवरण मागेको छ ।

सञ्चारमन्त्री बाँस्कोटाले स्विस कम्पनी ‘केबीए नोटासिस’ का एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड घूस मागेको’ अडियो सामग्री सार्वजनिक भएपछि लेखाका सदस्यहरूले भ्रमण खर्चमा समेत अनियमितता भएको आशंकामा मन्त्रालयसँग हिसाब विवरण मागेका हुन् ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडलसँगको सवाल–जवाफमा सांसद विरोध खतिवडाले भने, ‘सुरक्षण मुद्रण सम्बन्धमा मन्त्रीस्तरीय भ्रमण र त्यसको खर्च विवरण दिन सक्नुहुन्छ ? ’ त्यस्तो खर्च सम्बन्धित कम्पनीले बेहोरेको थियो कि सरकारले भन्ने जिज्ञासा खतिवडाको थियो ।

पौडेलले जवाफ दिए, ‘सम्बन्धित मुलुकबाट निम्ता आएको थियो । सोही आधारमा सरकारी खर्चमा भ्रमणमा गएका हौं ।’

सांसद खतिवडाले प्रतिप्रश्न गरे, ‘सबै सरकारी खर्चमा हो ? ’

सभापति भरतकुमार शाहले बीचमै पौडेललाई सतर्क गराउँदै भने, ‘सोचेर जवाफ दिनुहोस् । नत्र फस्नुहुन्छ ।’

पौडेलले भने, ‘जर्मन भ्रमणमा मेरो खर्चचाहिँ कम्पनीले बेहोरेको थियो । बाँकी खर्च कसले बेहोर्‍यो, जानकारी भएन ।’

सांसद राजन केसीले भ्रमणमा जाने मन्त्री, सचिव, उपसचिव तथा सबै पदाधिकारीको पासपोर्ट छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘कसैको निम्ता स्वीकार गरी गएको हो वा अरू माध्यमबाट गएको हो रु खोज्नुपर्छ ।’ अन्नपूर्ण पोष्ट