आज संसद बैठक बस्दैः यस्तो छ कार्यसूचि

होमल्याण्ड खबर

२०७६ फाल्गुन १३ गते, मंगलवार १०:०९ मा प्रकाशित

प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सेक्युरिटी प्रिन्टिङ्ग प्रेश खरिद गर्ने सम्बन्धमा कमिसनका लागि बार्गेनिङ्ग गर्दै गरेको अडियो सार्वजनिक भएपछि कांग्रेससहितका विपक्षी दलले यसअघिको संसद बैठकमा अवरोध गरेका थिए ।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको कांग्रेस, राजपा तथा समाजवादी पार्टीको बैठकले संसदमा अवरोध नगर्ने निर्णय गरेकाले मंगलबारको संसद बैठक नियमित रुपमा चल्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, २०७६” पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा अर्थमन्त्री युवराज खतिवडाले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत
गर्ने तथा “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

संसद सचिवालयका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलले “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्री श्री घनश्याम भुषालले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवदेन सहितको बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्न, “बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

आजै कै बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने छन् ।