कमिसनवाद विना चल्दैन कम्युनिष्ट पार्टीः सांसद गिरी

होमल्याण्ड खबर

२०७६ फाल्गुन १३ गते, मंगलवार १४:५४ मा प्रकाशित

संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीले कम्युनिष्ट पार्टी कमिसनवाद विना नचल्ने बताएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गिरीले कम्युनिष्ट सरकार पार्टी कमिसनवाद विना नचल्ने कुराको निर्वर्तमान सञ्चार मन्त्रीको ७० करोड कमिसनबाट प्रमाणित हुने बताए ।

‘नेकपाका जसले गरे पनि त्यो शोषित र सर्वहाराको नाममा हुने,’ उनले भनिन्,  ‘तर अन्यले गरे भ्रष्टाचार हुने ?’ उनले नेकपाका मेयरदेखि  मन्त्री र प्रधानमन्त्रीसम्म भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइन् ।

उनले निर्वर्तमान सञ्चार मन्त्रीको भ्रष्टाचारको विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनु पर्ने बताइन् ।

निर्वर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामापश्चात अख्यितारले छापा मारेको बताउँदै अख्तियारले बाँस्कोटालाई सत्य तथ्य छानबिन नगरी उनलाई बचाउ गर्ने उद्देश्यले सम्पूर्ण कागजात गायब गरेको आरोप लगाइन् ।  ‘अख्तियारले गोकुल बाँस्कोटाको घरमा किन छापा मार्दैन’ उनले भनिन्,  ‘अन्यको हकमा अनुसन्धान गर्ने अख्तियारले उनलाई पनि अनुसन्धान गर्नु पर्दछ ।’

उनले संसदीय समिति गठन गरी छानबिन गर्ने समेत बताइन् ।