३ मंसिर २०८१, सोमबार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता युवराज ज्ञावालीले पार्टीले गरेको निर्णय सर्वसम्मत हुने भएकाले सबैले मान्नुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान कुरा गर्दै उनले पार्टीले सरकार चलाउने भएकाले प्रधानमन्त्री केपी ओलीले पार्टीको निर्णय मान्दिन भन्न नमिल्ने बताए । पार्टीकाे निर्णय मान्दैन भन्दा त्यसले दुर्घटना निम्ताउने उनले चेतावनी दिए ।
ज्ञवालीले पार्टीले नै सबैलाई जिताएको र प्रधानमन्त्री एवं राष्ट्रपति पनि पार्टीले नै बनाएकाले पार्टीले निर्णय गरिसकेपछि त्यसलाई म मान्दिन भन्ने अधिकार कुनै पदमा बसेको व्यक्तिलाई पनि नहुने बताए ।
‘केपी ओलीलाई पार्टीले अध्यक्ष बनाएको हो । उहाँलाई प्रधानमन्त्री पनि पार्टीले बनाएको हा’, उनले भने, ‘अहिले उहाँ पार्टीको सर्वोच्च पद अध्यक्ष र देशको प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले उहाँले पार्टीको निर्णय मान्दिन भन्न मिल्दैन ।’
उनले संविधान संशोधन नेकपाले मात्र चाहेर नहुने र बहुमत छ भन्दैमा जे पायो त्यही संविधानमा गर्न नमिल्ने बताए । संविधान चलाउने र राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषय फरक भएको भन्दै नेकपाका नेता ज्ञवालीले संविधान संशोधन दलीय सहमतिमा हुने बताए । उनले राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने निर्णय पार्टीले गर्ने भएकाले दुवै विषय फरक भएको बताए ।
डा.युवराज खतिवडालाई दोहोर्याउने कि नदोहोर्याउने भन्ने कुरा प्रधानमन्त्री ओलीले नभई पार्टीले निर्णय गर्ने ज्ञवालीले बताए । उनले पार्टीले संस्थागत निर्णय गरिसकेपछि पार्टीको निर्णय मान्दिन भन्ने अधिकार पार्टीका कुनै पदमा बसेकालाई पनि नभएको बताए ।
राष्ट्रिय सभामा सिफरिस गर्ने अधिकार सरकारलाई भएपनि पार्टीको निर्णय सरकाले उल्टाउन नसक्ने ज्ञवालीको भनाई छ ।
पार्टी विधि र विधानले चल्लने भएकाले पार्टीको निर्णय सर्वमान्य हुने भन्दै ज्ञवालीले भने, ‘प्रधानमन्त्री ओलीको पनि आफ्नो इच्छा हुन सक्छ । सचिवलयले गरेको निर्णयमा असन्तुष्टि हुनसक्छ । यस्ता धेरैका धेरै असन्तुष्टिका बीचमा पार्टीले अन्तिममा जे निर्णय गर्छ त्यो सबैले मान्नुपर्ने हुन्छ ।’
‘अब पार्टीको निर्णय परिवर्तन हुँदैन । पार्टीले दिएको निर्देशन अनुसार सरकार चल्नुपर्छ’, उनले भनेका छन् ।
ज्ञवालीले बुधबारको सचिवालय बैठकमा कसैको पनि फरक मत नरहेकाले विवाद भयो या कोही अल्पमतमा प¥यो भन्न नमिल्ने बताए । वादविवाद पार्टीमा समान्य विषय भएपनि अन्त्य संस्थागत निर्णनै मान्नु पर्ने उनले बताए ।
ज्ञवालीले प्रधानमन्त्री ओलीले यो निर्णय इमानदारीपूर्वक कार्यन्यवयमा लानुपर्ने र पार्टी अध्यक्ष भएकाले पार्टीलाई सहजरुपमा अगाडि बढाउनुपर्ने बताए ।
केपी ओली, वामदेव गौतम दुवैको पार्टी र नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका रहेको भएपनि उनीहरूमा पनि केही कम्जोरी रहेको ज्ञवालीले बताए ।
ज्ञावालीले गौतमलाई आहिले प्रधानमन्त्री बनाउन नसकिने बताए । त्यसका लागि संविधान अनुसार प्रतिनिधिसभाको निर्वाचन जितेर आउनुपर्ने उनले बताए ।
अहिले एक व्यक्ति विशेषका लागि संविधान संशोधन पनि गर्न नसकिने उनले बताएका छन् । संविधान संशोधन सबै दलको सहमतिमा मात्र सम्भव हुने उनको भनाइ छ ।
वामदेव गौतमले संविधानअनुसार राष्ट्रिय सभामा जानु र संविधान अनुसार काम गर्नु बाहेक अर्को विकल्प नरहेको उनले बताएका छन् ।
ज्ञवालीले कुनै व्यक्तिको व्यक्तिगत इच्छाका लागि संविधानमा नभएको प्रावधान थप्न नसकिने र भोलि संवैधानिक प्रयाक्रियाबाट मात्र वामदेव प्रधानमन्त्री बन्न सक्ने बताए ।