अर्थमन्त्री खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदै

होमल्याण्ड खबर

२०७६ फाल्गुन २० गते, मंगलवार ११:५६ मा प्रकाशित

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिँदैछ । राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको हाे ।

मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल पनि आजै रातिदेखि सकिनेछ ।

“हिजो बसेको मन्त्रिपरिषदले सिफारिस गरेको भए दिउँसोसम्म जानकारी आउला,” राष्ट्रिय सभा स्रोतले भन्यो, “नभए उहाँको पनि सांसदको कार्यकाल आजै राति १२ बजेदेखि सकिन्छ ।”

आज कार्यकाल सकिने सांसदहरुमा नेकपाका ९ जना रहेका छन् । डा. खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी रहेका छन् ।

त्यसैगरी कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि आजैदेखि सकिँदैछ ।

राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लालको कार्यकाल पनि आजै सकिँदैछ ।समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि आजै सकिनेछ ।

भोलिदेखि राष्ट्रिय सभामा कांग्रेसका ६ जना मात्रै सांसद रहनेछन् । राजपाका दुई र समाजवादी पाएका एकजना सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन् ।

५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् । यसैबीच आज दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको बैठकअघि नयाँ बानेश्वरमा सामूहिक फोटो सेसन हुने भएको छ ।

आजदेखि बिदाइ हुने सांसदहरुले आजको बैठकमा आफ्ना धारणाहरु राख्ने तयारी गरिएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । यस्तै नवनिर्वाचित सांसदहरुको भोलि ११ बजे सपथ हुने भएको छ ।