३ मंसिर २०८१, सोमबार
राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।
दुई वर्षे कार्यकाल पूरा गरी १८ जना सांसद मंगलबार बिदा भएपछि बुधबार नयाँ सांसदहरुले शपथ लिएका हुन् ।
राष्ट्रियसभाका नयाँ १८ सांसदहरुलाई आज बिहान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदको ल्होत्से हलमा शपथ गराएका हुन् ।
राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि यही माघ ९ गते निर्वाचन भएको थियो । नयाँ निर्वाचित भएका १८ जना सांसद मध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई सदस्य छन् ।
शपथ लिने सांसदहरुमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ रहेका छन् ।
यस्तै विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आज सांसदको शपथ लिएका हुन् ।
मंगलबार बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका दुई, समाजवादीका एक र राष्ट्रपतिबाट मनोनित एक सांसद थिए ।