९ मंसिर २०८१, आईतवार
कोलकाता नाइट राइडर्सलाई हराउँदै मुम्बई इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको चौथो स्थानमा उक्लिएको छ ।
कोलकातामा भएको खेलमा मुम्बईले घरेलु टिमलाई १०२ रनको भारी अन्तरले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
मुम्बईका लागि इशान किसनले ६२ रनको उत्कृष्ट इनिङ खेले । उनले २१ बलमा ६ छक्का र ५ चौका प्रहार गरेका थिए । सुर्यकुमार यादव र रोहित शर्माले ३६–३६ रन बनाए । बेन कटिङले पनि २४ रनको योगदान दिए ।
बलिङ तर्फ पियुस चावलाले ३ विकेट लिए भने प्रसिद कृष्ण, टम कुरान र सुनिल नराइनले १–१ विकेट बाँढे ।
२११ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले पुरा २० ओभर पनि खेल्न नसक्दै अलआउट भयो । १८.१ ओभरमा अलआउट हुँदा कोलकाताले १०८ रनमात्र बनाउन सक्यो ।
उसका लागि क्रिस लिन र नितिश रानाले २१–२१ रन बनाए भने अन्य ब्याट्सम्यानले अझ खराब खेले ।
कोलकातालाई ठूलो अन्तरले हराउनका लागि क्रुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले २–२ विकेट लिए ।
यो जितसँगै मुम्बई ११ खेलबाट १० अंक बनाउँदै पहिलो पटक आईपीएल तालिकाको शीर्ष चारमा उक्लिएको छ । समान अंक बनाएको कोलकाता भने पाँचौं स्थानमा झरेको छ ।