नेकपा स्थायी कमिटी बैठक : ‘प्रधानमन्त्री राजीनामा दिल्लीले होइन मैले मागेको हुँ’- अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७७ असार १६ गते, मंगलवार २०:०९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको बताउनुभएको छ ।

गए शुक्रबार र शनिबार सीमा समस्या तथा एमसीसीलगायतका विषयमा केन्द्रीत भएको स्थायी कमिटी बैठक आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न पार्टीकै केही नेता र भारतीय दूतावास सक्रिय भएको भन्ने अभिव्यक्ति दिएसँगै एजेण्डा भन्दा बाहिर गएर अभिव्यक्ति काण्डमा अल्मलिन पुगेको हो ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो ? भन्ने पनि प्रश्न गर्नुभएको थियो । सोही बैठकमा बोल्दै माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नुभएको छ ।

त्यस्तै, पार्टीका उपाध्यक्ष बामदेव गौतमले पनि सरकारले काम गर्न नसकेको कारण पार्टीलाई गम्भीर धक्का लागेको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गर्नुभएको छ ।

साथै, नेताहरुले भारतीय राज्यसंयन्त्र वा दूतावासले सरकार ढाल्न खोज्यो भनेर अभिव्यक्ति दिनुको कुनै अर्थ नभएको बताएका छन् । बैठकमा नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाहँदा हटाउन सक्ने धारणा राखेका थिए ।

गत आइतबार प्रधानमन्त्री ओलीले तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६९ औं जन्मजयन्तीको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ नक्सा जारी गरेवापत भारतीय दूतावास र पार्टीकै केही नेताले आफूलाई हटाउन सक्रिय भएको भन्ने अभिव्यक्ति दिनुभएको थियो ।