प्रधानमन्त्री ओली तनावमा, मन्त्रीहरुलाई बालुवाटार बोलाइयो

होमल्याण्ड खबर

२०७७ असार १७ गते, बुधबार १०:३९ मा प्रकाशित

पार्टीभित्रैका शीर्ष नेताले राजीनामा मागेपछि प्रधानमन्त्री केपी ओली तनावमा पर्नुभएको छ । केही दिनअघिको भारतबारेको अभिव्यक्तिलाई लिएर पार्टीभित्रैका शीर्ष नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्न भनेपछि ओली तनावमा पर्नुभएको हो ।

मंगलबारको स्थायी समिति बैठकममा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लगायतका नेताले प्रधानमन्त्रीको राजीनामा माग्नु भएको थियो । मंगलबार बैठकका १८ वक्तामध्ये १२ जनाले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा ‘आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउने प्रयास गरिहेको’ अभिव्यक्ति दिनुभएको हो ।

पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्रीको टिप्पणी गैरजिम्मेवार, राजनीतिक तथा कुटनीतिक आचार विपरीत भएको भन्दै आलोचना गरेका छन् । शीर्ष नेताहरुले अभिव्यक्तिबारे प्रधानमन्त्रीले पार्टीमा जवाफ दिनुपर्ने समेत बताएका छन् । अमेरिकी सहयोग निगम (एमसीसी), सरकारको कार्य समीक्षा र कोरोना लगायतका विषयमा छलफल गर्नको लागि बोलाइएकाे नेकपाको स्थायी समित बैठक पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्तिमै केन्द्रित भएको छ ।

स्थायी समिति बैठमा मंगलबार कोरोनाबारे छलफल गर्ने कार्यसूची थियो तर दिनभर बैठक प्रधानमन्त्रीको अभिव्यक्तिमै केन्द्रित हुँदा अन्य एजेण्डा अन्योलमा परेको छ । बैठक बुधबार पनि ११ बजेदेखि बस्दैछ । आजको बैठक पनि त्यसमै केन्द्रित हुने स्थिति देखिएको छ ।

यसैबीच पार्टीभित्रैका शीर्ष नेताले राजीनामा मागेपछि तनावमा परेका प्रधानमन्त्रीले मन्त्रीहरूसँग परामर्श गर्न थाल्नुभएको छ । प्रधानमन्त्रीले मन्त्रीहरुलाई छलफल का लागि अहिले बालुवाटार बोलाउनुभएको छ ।