३ मंसिर २०८१, सोमबार
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश र जनतालाई धोका दिनु नुहुने बताउनुभएको छ ।
नेकपामा प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने दवावपछि विकसित राजनीतिक घटनाक्रम र संसद अधिवेशन अन्त्य भएपछि प्रवक्ता श्रेष्ठले देश र जनतालाई धोका दिनु नुहुने बताउनुभएको हो ।
प्रवक्ता श्रेष्ठले यस संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति सबैले आ-आफ्नो ठाँउबाट भूमिका खेल्न आग्रह पनि गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठ लेख्नु हुन्छ-‘कमरेडहरु हो ! यस संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति आ-आफ्नो ठाँउबाट भूमिका खेलौं । देश र जनतालाई धोका दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं ।’
बालुवाटारमा गत मंगलबार बसेकाे नेकपा स्थायी समितिको बैठकमा नेकपाभित्रकाे ‘युद्धविराम’ भंग भएकाे थियाे । उक्त बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा माग्नुभएकाे थियाे ।
त्यसपछि प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी मन्त्रिपरिषद् बैठक बोलाएर संघीय संसदको वजेट अधिवशन स्थागित गर्नुभएकाे थियाे । हिजाे विहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा गम्भीर संकट पैदा भएको निष्कर्ष निकालेको थियाे ।