भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि सभागृहको तयारी पूरा

होमल्याण्ड खबर

२०७५ बैशाख २८ गते, शुक्रबार ०७:३० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ ।
सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन् । सभागृहको प्रवेशद्वारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ ।
सभागृहमा पनि रंग लगाइएको छ भने फूलको साजसज्जा त्यत्तिकै आकर्षक छ । यी सबै दृश्य हेर्दा लाग्छ यो हिजोको सभागृह होइन । त्यसैगरी, स्वागतद्वारको दायाँबायाँ प्रशस्तै संख्यामा नेपाल र भारतका झण्डा टाँगिएको छ ।
सभागृह मात्र होइन मोदीको स्वागतका लागि उहाँ नेपाल रहँदाको समयमा आउने र जाने सबै स्थान सफा र व्यवस्थित नै रहेको छ । सडकको छेउछाउमा रंग लगाउने, झण्डा राख्ने, स्वागतद्वार निर्माण गर्ने काम पनि सँगै सकिएको छ । विमानस्थल, गौशाला, त्रिपुरेश्वर, जमल, नयाँ बानेश्वर, कोटेश्वर, हायात होटलको आसपासलगायत प्रधानमन्त्रीले आवत जावत गर्ने स्थानमा साजसज्जाको काम पनि सकिएको छ ।
दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री आज नेपाल आउनु भएको छ । प्रधानमन्त्री मोदीको स्वागतका लागि कामपाका तर्फबाट कुनै कसर बाँकी राखिएको छैन, कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।