नेकपाको स्थायी कमिटी बैठक फेरी स्थगित, अब एक हप्तापछि बस्ने

होमल्याण्ड खबर

२०७७ असार २६ गते, शुक्रबार १०:४८ मा प्रकाशित

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।

बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो ।

स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।

पूर्वयोजनाअनुसार नेकपा स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने कार्यक्रम थियो ।

जारी संकटलाई समाधान गर्न भन्दै गत सातादेखि दुई अध्यक्षबिच नियमित भेटघाट हुँदै आएको भएपनि सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन ।

ओलीले दुबै पद नछाड्ने अडान राख्दै आएका छन् भने प्रचण्ड–नेपाल गुटले भने दुवै पद छाड्नुपर्ने माग गर्दै आएका छन् ।