‘केही तत्व म र प्रधानमन्त्रीलाई उचाल्न सक्रिय छन्’

होमल्याण्ड खबर

२०७७ असार २७ गते, शनिबार २०:३९ मा प्रकाशित

चितवन । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताउनु भएको छ ।

अध्यक्ष दाहालेशनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानको अवलोकन पश्चात आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो । कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उहाँको भनाई छ। ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री केपी ओलीलाई उचाल्न सक्रिय छन्’, तर हामी सधैं एक छौं, उहाँले भन्नुभयो, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।’

अध्यक्ष दाहालले कार्यकर्तालाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नलागी एकढिक्का हुन आग्रह समेत गर्नुभयो ।  ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं’, उहाँले भन्नुभयो, ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

अध्यक्ष दाहालले राष्ट्रिय निकुञ्जले माडीमा पुर्याएको असर, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास सम्बन्धि आफ्नो ध्यान रहेको बताउनुभयो । अरु समान्य निर्वाचित सदस्यले जस्तो एक दुई वटा काम गरेर यस क्षेत्रबाट आफू फुत्केर नजाने उहाँको भनाई छ । उहाँले माडीको पूर्वाधार विकासमा आफू तल्लीन रहेको समेत उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री दाहालले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउनेबारे सरकार र पार्टीमा छलफल भइरहेको बताउनुभयो । आकाशे पुलको अध्ययन र डिपीआरका लागि एक करोड रुपैयाँ छुट्याइएको उहाँले जानकारी दिनुभयो ।