एजेन्सी : इटालीयन सिरी ए फुटबल अन्तर्गत आइतबार बिहान भएको खेलमा पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि युभेन्टस एटलान्टासँग हारबाट जोगिएको छ ।
आफ्नो घरेलु मैदान टुरिनमा युभेन्टसले एटलान्टासाग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसका लागि दुवै गोल रोनाल्डोले पेनाल्टीमार्फत गरेका थिए, भने एटलान्टाका डुभान जापटा र रुस्लान मालिनोचिस्कीले गोल गरे ।
खेलको १६औं मिनेटमा जापटाको गोलबाट एटलान्टाले घरेलु टोली युभेन्टसविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको थियो । १ गोलले पछि परेको युभेन्टसले ५५औं मिनेटमा खेललाई बराबरीमा ल्याए । पेनाल्टीमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
जारी खेलको ८०औं मिनेटमा रुस्लानले गोल गर्दै एटलान्टालाई खेलमा पुनः २–१ को अग्रता दिलाए । मुरिएलले दुई डिफेन्डरलाई बिट गर्दै दिएको पासमा सब्सिच्युट रुस्लानले गोल गर्न सफल भएका थिए । ९०औं मिनेटमा युभेन्टसले पुनः पेनाल्टीको अवसर पायो । लुइस मुरिएलले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले पुनः युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रोनाल्डो गोल गरि खेल २-२ को अबस्थामा पुर्याउन सफल भए । ।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल २–२ गोलको बराबरीमा टुंगियो । बराबरीसँगै युभेन्टसले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३२ खेलबाट ७६ अंक पुगेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको लाजियोको ६८ तथा तेस्रो स्थानमा रहेको एटलान्टाको ६७ अंक रहेको छ ।