३ मंसिर २०८१, सोमबार
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गर्दै नक्कली अयोध्या खडा गरेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएको छ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अयोध्या नेपालकै वीरगञ्ज शहरदेखि नजिकै रहेको र त्यतिबेला जनकपुरबाट नेपाली छोरी सीताको विवाह अयोध्याका राजकुमार रामसँंग हुनु अनौठो नभएको बताउनुभयो । अहिले भारतले खडा गरेको अयोध्य भीषण विवादमा रहेको समेत उहाँको भनाइ थियो ।
अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम नेपालमा र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टि यज्ञ लगाउने पण्डितजी रिडीको भएको प्रधानमन्त्री ओलीको दावी थियो ।
सोही कारण दशरथका सन्तान (राम) पनि भारतीय नभई नेपालकै भएको र अयोध्या पनि नेपालकै ठाउँ भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशप्रतिको, जनताप्रतिको स्नेह र भलाईप्रतिको निष्ठा र मानवजातिको निष्ठामा कहिल्यै पनि कमि नहुने बताउनुभयो ।
उहाँले बुद्धि क्षमता ज्ञानको सीमा हुने तर निष्ठासीमा रहित हुने धारणा राख्नुभयो । उहाँले देशलाई अघि बढाउने सहयात्री आफु भएको र यसका आफू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
नेपाली समाजको रक्षा तथा कला साहित्य र सस्कृतिको जर्गेना गर्न पनि प्रतिवद्ध भएर लाग्नुपर्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले साहित्यीक क्षेत्रमा भानुभक्तको योगदान रहेको जिकिर गर्नुभयो । कार्यक्रममा उहाँले हिमवत्खण्ड कला साहित्य स्म्मेलन २०७५–स्मारिक बिमोचन गर्नुभएको थियो ।