३ मंसिर २०८१, सोमबार
काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आइरहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीका वरिष्ठ नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बढेको विवादका कारण पटक/पटक स्थगित हुँदै आइरहेको बैठक शीर्ष नेताहरु बीचको परामर्शपछि शुक्रबार बोलाइएको हो ।
असार १७ गतेपछि मात्रै ४ पटकसम्म स्थगित स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ । यस बीचमा शीर्ष नेताहरुले सहमतिका लागि अधिकतम प्रयास गरे पनि विवादित कुनै विषयमा सहमति बनेको छैन् । तर नेताहरुले सहमतिकै लागि अझै केही समय लिने तयारी गरिरहेका छन् । आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिती तय गर्न सक्ने नेताहरुले बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचको अवधिमा सहमतिकाे प्रयास जारी राख्ने नेताहरुबीच सहमति बनेको छ ।
गत असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटीको बैठक सरकार हटाउन छिमेकी भारत र आफ्नै पार्टीका नेताहरू भित्रभित्र लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा दिनुभएको अभिव्यक्तिले नेकपाको विवाद थप उत्कर्षमा पुगेको थियो ।