स्पेनिस ला लिगामा रियल म्याड्रिड च्याम्पियन

होमल्याण्ड खबर

२०७७ श्रावण २ गते, शुक्रबार ०९:४३ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड च्याम्पियन बनेको छ । बिहीवार राति भएको खेलमा भिल्लारियललाई २–१ गोल अन्तरले पराजित गर्दै रियल एक खेल अगावै लिग च्याम्पियन बनेको हो । रियलको  यो स्पेनिस ला लिगामा ३४ औं पटकको उपाधि हो । रियलले लिगको एक खेल बाँही रहँदा शीर्ष स्थानमा सात अंकको अग्रता बनाउँदै लिग च्याम्पियन बनेको हो ।

घरेलु टोली रियलको जितका लागि दुबै गोल करिम बेन्जेमाले गरेका थिए ।  बेन्जेमाले क्रोएसियन मिडफिल्डर लुका मोड्रीचको पासमा गोल गर्दै रियलाई पहिलो हाफमा १–० गोलको अग्रता दिलाएका हुन् ।

खेलको ७७ औं मिनेटमा बेन्जेमाले नै पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए ।  भिल्लरियलका भिसेन्ट इबोर्राले ८३ औं मिनेटमा गोल गर्दै  खेल २–१ को स्थितिमा ल्याए । तर त्यसपछि भिल्लरियल थप गोल गर्न नसक्दा रियल विजयी भएको हो ।

जितससगैँ ३७ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई सात अंकले पछि पार्दै रियल लिग च्याम्पियन बन्यो । समान खेल खेलेको बार्सिलोनाको ७९ अंक रहेको छ । भिलारियल भने ५७ अंकसहित पाँचौं स्थानमा छ ।