३ मंसिर २०८१, सोमबार
काठमाडौं, मंसिरमा महाधिवेशन गर्ने नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई आफूले समर्थन नगरेको अर्का अध्यक्ष पुष्पकमल दाहालले स्पष्टीकरण दिनुभएको छ । शनिबार (हिजो) मात्रै सचिवालय बैठकमा दुवै अध्यक्षले मंसिरमा महाधिवेश गर्ने सहमतिको प्रस्ताव गर्नुभएको थियो ।
तर, आइतबार (आज) बिहान आफ्नै निवास खुमलटारमा पहिले सचिवालयका सदस्य र पछि स्थायी कमिटीका सदस्यसमेत राखेर दाहालले शनिबारको राजनीतिक घटनाक्रम र मंसिरको महाधिवेशनबारे स्पष्टीकरण दिनुभएको हो ।
शनिबार (हिजो) बसेको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने अध्यक्ष एवं प्रधानमन्त्री ओलीको प्रस्तावमा अर्का अध्यक्ष दाहालले समर्थन जनाएपछि माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउनुभएको थियो ।
अध्यक्ष दाहालले महाधिवेशन भनेपछि सबै विधि पूरा गर्नपर्ने भएकाले उक्त प्रस्ताव जसरी भएपनि अल्झाउने र स्थायी कमिटी बैठकको स्प्रिटलाई भत्काउने प्रयत्न भएकाले हिजो कुनै सहमति नगरिएको बताउनुभएको जानकारी गराइएको छ ।
त्यस्तै, उहाँले अर्ली महाधिवेशनको प्रस्ताव अल्झाउने प्रस्ताव भएको, सदस्यताको टुंगो नलागेको र पार्टी एकीकरणको प्रक्रिया पूरा नभएकाले प्राविधिक कुरा गरेर मात्रै महाधिवेशन नहुने बताउनुभएको जनाइएको छ ।
अध्यक्ष दाहालले सामूहिक रुपमा कमिटीको निर्णयअनुसार अगाडि बढ्ने पनि बताउनुभएको थियो । उहाँले बाहिर सहमति भयो भनेर हल्ला गरिएको तर, त्यसमा आफू सहमत नरहेको बताउनुभएको छ ।
आइतबार नेता माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्टलगायत र दाहाल निकट स्थायी कमिटी सदस्य बर्षमान पुन, पम्फा भुसाल र देव गुरुङलगायत खुमलटार भेलामा सहभागी थिए ।