ओली-प्रचण्डबीच साढे २ घण्टा छलफल सकियो

होमल्याण्ड खबर

२०७७ श्रावण ४ गते, आईतवार २०:४९ मा प्रकाशित

काठमाडौं। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटामा भृकफ छलफल सकिएको छ। दुई अध्यक्षबीच झन्डै साढे दुई घण्टा छलफल भएको थियो। प्रधानमन्त्रीसमेत रहेका ओली र पार्टी अध्यक्ष प्रचण्ड अपराह्न सवा चार बजेदेखि संवादमा बसेका थिए।

दुवै नेता पुरानै अडानमा कायम रहेको र सहमतिका विकल्पमा ठोस समझदारी जुट्न नसकेको बताइएको छ। प्रचण्डको सचिवालयका विष्णु सापकोटाअनुसार दुई अध्यक्षबीच पार्टीमा पछिल्लो समय देखिएको विवाद र गतिरोध अन्त्य गर्नेबारे छलफल भएको हो। यद्यपि दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने विस्तृत विवरण आइसकेको छैन।

हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले ‘अर्ली’ महाधिवेशनको प्रस्ताव गरेका थिए। प्रचण्ड मौन बसेपछि सहमति जुट्ने सम्भावना देखिएको थियो। तर आइतबार बिहान दाहालले आफू ओलीको प्रस्तावमा सहमति नभएको सार्वजनिक गरिसकेका छन्। आइतबार बिहान प्रचण्डले आफू र नेपाल पक्षीय नेताहरूलाई निवास खुमलटारमा बोलाएर ओलीसँग कुनै सहमति नगरेको बताएका थिए।

भेटमा वरिष्ठ नेता माधवकुमार नेपालको गम्भीर असहमतिपछि प्रचण्ड पछि हटेको स्रोतको दाबी छ। ओलीविरूद्ध प्रचण्डसँगै रहेका नेता नेपालले दुई अध्यक्षले चोचोमोचो गरे आफूलाई मान्य नहुने बताएका थिए। आइतबार बिहान प्रचण्ड निवासमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत १ दर्जन स्थायी समिति सदस्यहरु भेला भएका थिए।

बिहान नेता नेपाल र आफू निकटका नेताहरुसँग छलफल गरेका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँगको छलफलमा जुटेका हुन्। शनिबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीको राजीनामा नमागेपछि वरिष्ठ नेता नेपाल समूहले केही सहमति भएको हुनसक्ने आशंका गरेको थियो। पार्टीभित्रका विवादको कारणको कारणले असार १० गतेबाट चलेको स्थायी कमिटी बैठक आजसम्म आइपुग्दा ७ पटक स्थगित भइसकेको छ। साउन ६ गतेको लागि बैठक बोलाइएको छ।